भोजपुर– १०८ आवाल ब्रम्हाचारी षडानन्द अधिकारीको जन्म स्थानमा शालिक राखिने भएको छ । षडानन्द नगरपालिका वडा नं. ६ ठेगाना भएका हाल विराटनगर निवासी सेमन्त कृष्ण अधिकारी बुवा र आमा सेमन्त कुमारी अधिकारीको छोरा कमल कृष्ण अधिकारीले १०८ आवाल ब्रम्हाचारीको शालिक दान गर्ने भएका छन् ।

४ फुट अग्लो र ३ सय केजिको शालिक अधिकारीले ब्रम्हाचारीको जन्म भएको षडानन्द नगरपालिका वडा नं. ७ को गडिगाउँ स्थित जन्मघर अगाडी राख्ने गरि दान गर्ने भएका छन् । शालिक राख्ने ठाउँको निर्माण गर्न षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र कुमार उदासले आज शिलान्यास गरेका छन् ।

भोजपुर जिल्लाको उत्तरी क्षेत्रमा १८९२ मार्ग शुक्ला पञ्चमीको दिन षडानन्द नगरपालिका वडा नं. ७ (साविक केउरेनी पानी गा.वि.स.) जन्मिएका अधिकारीले शिक्षा क्षेत्रमा ठुलो योगदान गरेका थिए । नेपालमै पहिलो पटक सर्वसाधरणले पढ्न पाउने गरि १९३२ मा षडानन्द पाठशालाको स्थापना गरेका थिए । साथै ठुलो गुठीको स्थापना गरेर धार्मिक क्षेत्रमा धेरै मठ मन्दिर निर्माण गरेका थिए ।

षडानन्द अधिकारीको नाममा धेरै संघ, संस्थाहरुको नाम राखिएको छ, नगरपालिकाको नाम पनि उनै आवाल ब्रम्हाचारीको नामबाट नामकरण भएको छ साथै षडानन्द नगरपालिका वडा नंं ७ ले अधिकारीको नाममा पर्यटकीय क्षेत्रमा जोडिने तथा धार्मिक क्षेत्रमा जोडिने खालका कार्यहरु गर्दै जाने योजना रहेको बताएको छ ।

मुर्ति राखिने स्थान आवाल ब्रम्हाचारीको जन्म स्थानमा अझै प्रभावकारी ढंगले व्यवस्थित र पर्यटकीय क्षेत्रको रुपमा अगाडी बढाईने षडानन्द नगरपालिका वडा नं. ७ का वडाध्यक्ष दिपेश विष्टले बताएका छन् ।

तपाईको प्रतिक्रिया