भोजपुर– पौवादुङ्मा गाउँपालकाको १३ औं गाउँसभाले नवजात शिशु भविष्य सुरक्षा कार्यक्रम आर्थिक वर्ष २०८०÷०८१ को निती तथा कार्यक्रममा पारित भएको छ । पहिलो पटक पौवादुङ्मा गाउँपालिकाले नवजात शिशु भविष्य कार्यक्रम निती तथा कार्यक्रममा पारित गरेको छ । यो कार्यक्रम ७ सय ५३ स्थानीय तह मध्येको पहिलो कार्यक्रम पौवादुङ्मा गाउँपालिकाले निर्माण गरेको पालिका अध्यक्ष किरण राईले बताएका छन् ।
यस कार्यक्रमले भविष्यमा माथिल्लो तह र माथिल्लो स्तरमा पुग्ने क्षमता भएको शिशुहरु आर्थिक अवाभले सानै उमेरमा भविष्य नविग्रियोस भनेर सुरक्षाको लागि यो कार्यक्रम निर्माण गरिएको हो । जेष्ठ, नागरिक, एकल महिला विधुवा र लक्षित वर्गलाई समाजिक सुरक्षा भत्ता संघिय सरकारले प्रदान गर्दछ । त्यस्तै ठुला ठुला तहका कर्मचारी, सेना, प्रहरीका माथिल्लो स्तरका व्यक्तिहरु, राजनितिज्ञ, वडा निर्मााण गर्ने, स्थानीय तह निर्माण गर्ने देशको विकास गर्न सक्ने व्यक्तिहरु पहिला शिशु हुन् शिशुको सुरक्षा नभए पछि गाउँगाउँको, टोल–टोलको, वडा, पालिका, जिल्ला र देशको महत्वपुर्ण स्थानमा पुग्न सक्ने व्यक्तिहरु बन्न सक्दैन त्यसैले पालिकाले शिशुको सरक्षाको लागि यो कार्यक्रम निर्माण गरेको पालिकाका अध्यक्ष राईले बताए ।
शिशु सुरक्षा कार्यक्रममा जन्म हुनु अगाडीदेखि ४ बर्ष हुँदा सम्मको समयलाई हेरेर कार्यक्रम बनाईको छ । जन्म हुनु अगि गर्भवती महिलाहरुलाई पोषणयुक्त खानपिनको लागि अण्डाको सट्टा अण्डा पार्ने पोथी, ८ पटक स्वास्थ्य संस्थामा चेकजाँच र स्वास्थ्य केन्द्रमा प्रसुति भएपछि पोसिलो खानाको लागि स्थानीय रातो भाले प्रदान गरिने छ ।
साथै शिशुको जन्म भए पश्चात ५ बर्षसम्म प्रत्येक महिना ५ सयको दरले प्रत्येक बर्ष ६ हजार र ५ बर्षमा ३० हजार शिशुले पाउनेछन् । बैंकसंगको साझेदारी र समन्वयमा अझ यो कार्यक्रमलाई फराकिलो बनाउँदै लैजाने योजना रहेको छ । यस बर्ष ५ सयको दरले र प्रत्येक बर्ष यो दर बढाउँदै लैजाने कार्यक्रममा यो बर्ष १ सय ५० जना शिशुको जन्म हुने अनुमान गरिएको अध्यक्ष राईले बताए ।
यस कार्यक्रमको लागि अनुमानित २ करोड ५० लाख बजेटको आवश्यकता पर्ने रहेछ । यस कार्यक्रममा प्रत्येक बर्ष १५० जनाको दरले शिशु वृद्धि हुँदा ५ बर्षको अवधीमा ७५० शिशुहरुले यो कार्यक्रमबाट लाभान्वित हुनेछन् ।
साथै पालिकाको १३ औं गाउँसभाले आफ्नो पालिकाको लोगो सार्वजानिक गरेको छ, त्यस्तै जनप्रतिनिधिहरुमा एकरुपता ल्याउन एकै खालको पोसाकको व्यवस्था गरिएको छ । पुरुष जनप्रतिनिधिको पोसाक सांसदहरुको जस्तै रङको दौरा सुरुवाल कोट र भद्गाउँले टोपी र महिलाहरुलाई सांसदहरुको जस्तै रङको सारी चोली र कोटको व्यवस्था गरिएको समेत राईले बताए ।