गोरखा । गोरखाको गण्डकी गाउँपालिकाको दशौं गाउँसभा नेपाली कांग्रेस र नेकपा एमालेका जनप्रतिनिधिले बहिष्कार गरेका छन् । स्थानीय तहको दोस्रो निर्वाचनपछिको पहिलो गाउँसभामा पालिकाको केन्द्र परिवर्तनको विषय पनि प्रस्तावको रूपमा आउन लागेको भन्दै उनीहरू सभामा सहभागी नभएका हुन् ।
मंगलबारको गाउँसभामा पालिकाको केन्द्र परिवर्तनसम्बन्धी प्रस्ताव तेस्रो नम्बरमा राखिएको थियो । चालू आर्थिक वर्षको वजेट संशोधनसम्बन्धी पहिलो र आगामी आर्थिक वर्षको बजेटको पूर्वतयारी सम्बन्धी दोस्रो प्रस्तावमा भने सभामा छलफल भएको छ । ४४ सदस्यीय गाउँसभामा माओवादी केन्द्रबाट निर्वाचित अध्यक्षसहित २९ जना जनप्रतिनिधि रहेका छन् । यस्तै उपाध्यक्षसहित १३ जना कांग्रेसबाट र एमालेबाट निर्वाचित २ जना जनप्रतिनिधि छन् । पालिका उपाध्यक्ष ललिता अधिकारीसहित १५ जना जनप्रतिनिधि सभास्थल छोडेर बाहिरिएका हुन् ।
दुवै पार्टीका प्रतिनिधि सभा छोडेर हिँडेपछि पालिकाको केन्द्र परिवर्तनसम्बन्धी प्रस्तावमा भने छलफल नभएको गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाले जानकारी दिए । “उहाँहरूले बहिष्कार नै गरेको त भन्नु भएन तर कोही बिरामी परें भन्दै, कोही पार्टीले बोलायो भन्दै सभाबाट निस्कनुभयो,” तिमिल्सिनाले भने, “अब कार्यपालिकामा उक्त प्रस्तावबारे थप छलफल गरेर सभामा प्रस्तुत गरिन्छ ।”
गाउँपालिका अध्यक्षको सपथ ग्रहण गरेकै दिन कार्यपालिका बैठक राखेर तिमिल्सिनाले गाउँपालिकाले प्रशासकीय भवन तथा वडा नम्बर ६ र ८ को वडा कार्यालय भवन निर्माणसम्बन्धी ठेक्का प्रक्रिया रद्ध गराएका थिए । गण्डकी गाउँपालिकाको केन्द्रका विषयमा विवाद रहँदै आएको छ ।
गाउँपालिकाकी उपाध्यक्ष ललिता अधिकारीले पाँच वर्षदेखिको केन्द्रसम्बन्धी विवाद हचुवाका भरमा हल हुन नसक्ने बताइन् । स्थानीयले जग्गा दिएर प्रशासकीय भवन निर्माणको तयारी गरिएको ओखलडाँडामा केन्द्र राख्ने कि नराख्ने भनेर गाउँसभामा प्रस्ताव ल्याएर छलफल हुनुपर्ने उनको भनाइ छ । “ओखलडाँडालाई पनि प्रस्तावको रुपमा ल्याएर छलफल गरौं, अरु ठाउँबारे पनि सभामा छलफल गरौं भन्ने हाम्रो भनाइ हो,” उनले भनिन्, “नयाँ ठाउँ पनि निश्चित छैन, कति जग्गा कसरी जुटाउने भन्ने पनि छैन, अनि कसरी छलफल हुन सक्छ ।”
केन्द्रको विषयमा एक पटक जिल्लास्थित राजनीतिक दलको नेतृत्व तहसँग पनि छलफल भए विवाद समाधानको बाटो निस्कन सक्ने उपाध्यक्ष अधिकारीले बताइन् ।
प्रशासकीय भवन निर्माणको ठेक्का रद्ध गराउनु भएका अध्यक्ष तिमिल्सिनाले भने पायक पर्ने ठाउँमा केन्द्र सार्ने विषयमा अध्ययन गर्न जेठ १६ गते कार्यदल बनाएका थिए । कार्यदलले गण्डकी गाउँपालिका वडा नम्बर ६ कै आइडाँडा, वनटार, दलभञ्ज्याङ लगायतका स्थानको अध्ययन गरेर पालिकामा सुझाव पेस गरिसकेको छ ।
कार्यदलले आइडाँडा भन्ने स्थानमा जग्गा ब्यवस्थापन गरेर केन्द्र सार्न सकिने सुझाव दिएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । कार्यपालिका सदस्य सिताराम रसाइली संयोजकत्वको कार्यदलमा वडाध्यक्षहरू तुलबहादुर गुरुङ, पहलमान वयलकोटी, राजुबाबु भण्डारी र सुवास पन्त सदस्य रहेका थिए ।
प्रशासनिक सुगमता हेरेर नयाँ ठाउँमा पालिकाको केन्द्र रहनुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ छ । अहिले केन्द्र रहेको भूम्लीचोकको ओखलडाँडामा प्रशासकीय भवन र वडा नम्बर ६ को वडा कार्यालय भवन निर्माण गर्ने गरी डीपीआर तयार भइसकेको छ ।
त्यसका लागि स्थानीय बासिन्दाबाट करिब आठ रोपनी जग्गा उपलब्ध भएको छ । वडा नम्बर ८ को कार्यालय भवनसमेत गरी प्याकेजमै टेण्डर आह्वान गरिएको थियो । तीनवटै भवन निर्माणका लागि करिब १२ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया