संखुवासभा, संखुवासभामा पहिलो पटक जिल्ला स्तरीय सेपाकताक्रो प्रतियोगिता हुने भएको छ । सेपाकताक्रो संघ संखुवासभाको आयोजनामा कार्तिक ७ र ८ गते सदरमुकाम खाँदबारीमा प्रतियोगिता सञ्चालन गरिने आइतबार पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी गराएको हो ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहने सेपाकताक्रो संघ संखुवासभाका अध्यक्ष रोषण थापा मगरले बताए । प्रतियोगिताको साथमा सेपाकताक्रोको राष्ट्रिय टिमको समेत खेल प्रदर्शनी हुनेछ । खेल सेपाकताक्रोको अन्तराष्ट्रिय संगठन ‘स्ताप’को नियमानुसार सञ्चालन गरिने सेपाकताक्रोका अन्तराष्ट्रिय रेफ्रि मेघराज तोलाङ्गीले बताए ।
जिल्लामा सेपाकताक्रो खेल विस्तार तथा प्रचारप्रसारका लागि प्रतियोगिताको आयोजना गरिएको तोलाङ्गीले बताए । सेपाकताक्रो खेलका लागि संखुवासभाबाट ६ जना राष्ट्रिय खेलाडी र १४ जना क्षेत्रीय खेलाडी उत्पादन भइसकेका छन् । राष्ट्रिय खेलाडीमा ३ महिला र ३ पुरुष छन् भने ७ महिला र ७ पुरुष क्षेत्रीय खेलाडी छन् । भने एक जना अन्तराष्ट्रिय रेफ्रि समेत छन् ।
संखुवासभाले सातौ राखेप च्याम्पियन सिपमा दोस्रो स्थान हाँसिल गरिसकेकको छ भने क्षेत्रीय प्रतियोगिताहरुमा महिला तथा पुरुष दुवै टिम विजेता र उपविजेता बनिसकेको छ ।